काठमाडौं, साउन १६ — नेपाली फिल्म उद्योगकी अभिनेत्री आश्मा गिरी चाँडै वैवाहिक जीवनमा प्रवेश गर्न लागेकी छन्। उनी लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार विवाह गर्दैछिन्। करिब सात वर्षदेखिको प्रेम सम्बन्धलाई अब वैवाहिक सम्बन्धमा परिणत गर्न लागिएको हो।
विवाह समारोह काठमाडौंको मुलपानी चाबहिलस्थित रोयल प्यालेसमा आयोजना हुनेछ। समारोहमा दुवै पक्षका परिवार, नातागोता तथा नजिकका साथीहरूलाई आमन्त्रण गरिएको बताइएको छ।
आश्मा गिरीले अभिनय यात्रा वेब सिरिज रङ टाइम बाट सुरु गरेकी थिइन्। त्यसपछि उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। चलचित्र क्षेत्रमा भने उनले ‘ड्रिम गर्ल’ फिल्ममार्फत डेब्यु गरेकी हुन्, जुन फिल्मबाट उनले ‘ड्रिम गर्ल’ उपनाम समेत पाएकी थिइन्।
विवाहको समाचार सार्वजनिक भएसँगै शुभकामना दिनेहरू सामाजिक सञ्जालमा सक्रिय छन्। आश्मा र प्रलभको सम्बन्धलाई प्रशंसा गर्दै धेरैले सुखद वैवाहिक जीवनको कामना गरेका छन्।



