काठमाडौँ, जेठ २५ — अमेरिकाबाट निष्कासित करिब ४० जना नेपाली नागरिक आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा छन्। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार यी नेपालीलाई लिएर आएको विशेष चार्टर विमान आज दिउँसो करिब ४:१५ बजे काठमाडौँ आइपुग्ने अनुमान गरिएको छ।
डिपोर्ट गरिएकाहरू अमेरिका भित्र प्रवेश गर्दा आवश्यक कागजात नबोकी अवैध तरिकाले प्रविष्ट भएको आरोपमा निष्कासित भएका हुन्। केही व्यक्तिहरूले अमेरिकामा पुग्न १२ भन्दा बढी मुलुकको सीमा अवैध रूपमा पार गरेको स्वीकार गरेका छन्।
यो घटनालाई हालैको एउटा कड्किएको अध्यागमन नीतिसँग जोडिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएलगत्तै अमेरिका सरकारले ‘इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (ICE)’ मार्फत कागजातविहीन आप्रवासीहरूलाई फिर्ता पठाउने अभियान तीव्र बनाएको थियो।
अधिकार प्राप्त अमेरिकी निकायले सन् २०२१ देखि २०२४ को बीचमा १४० नेपालीलाई निष्कासन गरिसकेको छ। विगत चार वर्षको तथ्याङ्क हेर्दा सन् २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ र २०२४ मा ५३ नेपालीलाई डिपोर्ट गरिएको देखिन्छ।



