काठमाडौं, भदौ २३ — काठमाडौँ महानगरपालिकाले जेन–जी प्रदर्शनमा घाइते भएका नागरिकहरूको उद्धारका लागि १५ वटा एम्बुलेन्स खटाएको छ। मेयर बालेन शाहको सचिवालयका अनुसार, घाइतेहरूलाई नजिकको अस्पतालसम्म लैजान र समयमै उपचार सुनिश्चित गर्न यो कदम चालिएको हो।
घाइतेहरूको सङ्ख्या बढेसँगै अस्पतालहरूमा शैय्या अभाव देखिएपछि महानगरपालिकाले एम्बुलेन्स सेवा प्रभावकारी बनाउन र नगर प्रहरीको सहयोगमा घाइतेहरूलाई अस्पतालसम्म पुर्याउने व्यवस्था गरेको छ।
साथै, महानगरले सबै अस्पतालमा घाइतेहरूका लागि पिउने पानी, खाना र अन्य आवश्यक सुविधा उपलब्ध गराउने पनि सुनिश्चित गरेको छ। यस कदमले उपचार प्रक्रियामा सहजता ल्याउने र घाइतेहरूको जीवन रक्षा गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



