भारतको गुजरात राज्यस्थित अहमदाबादको मेघानीनगर क्षेत्रमा २९ जेठ (१३ जुन) मा एयर इन्डियाको लन्डनतर्फ उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ। विमानले भारतीय समय अनुसार दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलबाट उडान भरेको केही मिनेटमै आपतकालीन सन्देश पठाएको र त्यसपछि दुई मिनेटमै जमिनमा खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए, जसमा ५२ जना बेलायती नागरिक, ६ जना पोर्चुगाली, १ जना क्यानाडेली नागरिक रहेका थिए भन्ने पुष्टि भएको छ। यात्रुहरूको सूचीमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको पुष्टि भएको छ।

दुर्घटनापछि घटनास्थलमा सातवटा दमकलसहित आपतकालीन उद्धार टोली खटिएको छ। विमानस्थल वरिपरि बाक्लो कालो धुवाँ देखिएको थियो भने विमानका भग्नावशेषहरू स्थानीय क्षेत्रमा छरिएको बताइएको छ। दुर्घटनास्थलमा राष्ट्रिय प्रकोप प्रतिक्रिया बल र अन्य सुरक्षाकर्मीहरू परिचालित छन्। प्रारम्भिक रिपोर्टअनुसार केही यात्रु घाइते भएका छन् भने मृत्युको पुष्टि हुन बाँकी छ।

यस दुर्घटनालाई बोइङ ७८७ सिरिजको गम्भीर दुर्घटना का रूपमा लिइएको छ, जुन यस मोडलको पहिलो प्रमुख दुर्घटना हो। भारत सरकार, विमान नियामक निकाय र एयर इन्डिया व्यवस्थापनले घटनाको अनुसन्धान सुरु गरेका छन्। साथै, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले तत्काल उद्धार र राहत कार्यलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। घटनाको विस्तृत विवरण र औपचारिक प्रतिवेदन आउन बाँकी छ।



