काठमाडौं, जेठ २६— केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक आज दिउँसो २ बजेबाट पुनः सञ्चालन हुने भएको छ। सभामुख देवराज घिमिरेले संसद् सञ्चालनमा ल्याउने तयारी पूरा भएको जानकारी दिएका छन्।
गणतन्त्र दिवसको अवसरमा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संसद् बैठक अब रोक्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार नियमित रुपमा ११ बजे वा १ बजे बस्ने बैठक आज विशेष परिस्थितिका कारण २ बजे तोकिएको हो।
घिमिरेले बैठक अवरुद्ध हुनुले बजेट सत्रमा असर परेको स्वीकार गर्दै भने, “नोक्सानी त भइसक्यो, अब कार्यसूचीलाई समयानुकूल बनाएर अघि बढ्नुपर्छ।”
उनले आगामी दिनमा सांसदहरू बीचको सहकार्य र विधिसम्मत छलफलमार्फत बजेटमाथिको बहसलाई तोकिएको समयमा सम्पन्न गरिने विश्वास व्यक्त गरे।



