काठमाडौं, भदौ २१ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा आयोजित इन्द्रजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्न स्वयं उपस्थित भए, तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा उनी अनुपस्थित देखिए। प्रधानमन्त्रीको स्वागत कार्य प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले गरे।
इन्द्रजात्रा पर्व हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा विशेष रूपमा मनाइन्छ। काठमाडौं महानगरपालिकाले उपत्यकाबासीका लागि विशेष तयारी गर्दै बसन्तपुरमा कार्यक्रम सञ्चालन गरेको छ।
प्रत्येक वर्ष उच्च पदस्थ व्यक्तिहरू—राष्ट्रपति, प्रधानमन्त्री लगायत—को स्वागत मेयर र उपमेयरले गर्ने परम्परा रहँदै आएको छ। तर शनिबारको कार्यक्रममा राष्ट्रपति पौडेललाई स्वागत गर्न मेयर शाह उपस्थित भए भने प्रधानमन्त्री ओलीको स्वागतमा उनी देखिएनन्। यसलाई दुई नेताबीचको खटपटसँग जोडेर हेर्ने विश्लेषकहरू छन्।
यो मनमुटाव यसअघिका विवादसँग सम्बन्धित छ, जसमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यक्षमतामा प्रश्न उठाउँदै अर्को कर्मचारी पठाउन संघ सरकारसँग माग गरेका थिए।
तर प्रधानमन्त्री ओलीको कारणले अर्को कर्मचारी नपठाइएको भन्दै मेयर शाहले आलोचना गरेका थिए। यस्तो राजनीतिक तनावका कारण यस वर्षको इन्द्रजात्रामा मेयर शाह र प्रधानमन्त्री ओलीको स्वागत शैलीमा भिन्नता देखिएको हो।






