१० असार, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले स्पष्ट रूपमा संकेत दिएको छ कि यदि इजरायलले आक्रमण रोकेको खण्डमा आफूले पनि थप सैन्य कारबाही नगर्ने छ। इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले सामाजिक सञ्जालमार्फत यस्तो भनाइ सार्वजनिक गरेका हुन्।
उनले इजरायलको पछिल्लो सैन्य कारबाहीको जवाफस्वरूप इरानले बिहान ४ बजेसम्म कारबाही चलाएको र त्यसपछि तत्कालका लागि थप आक्रमणको कुनै योजना नरहेको बताएका छन्। उनका अनुसार ‘यदि इजरायलले अहिल्यै आक्रमण रोक्छ भने इरानले पनि थप प्रतिक्रिया दिनेछैन’।
विदेशमन्त्री अरघचीले देशको रक्षाका लागि खटिएका आफ्ना सैनिकहरूलाई सम्मान प्रकट गर्दै लेखे, “हाम्रो वीर सैनिकहरूले आफ्नो देशको रक्षामा ज्यानको अन्तिम थोपा रगतसम्म खनिएका छन्, उनीहरूले इजरायलको आक्रमणको डटेर सामना गरे।”
इरानले इजरायली आक्रमणको प्रतिशोधमा कतारस्थित अमेरिकी सैन्य अड्डा ‘अल उदिद’ मा मिसाइल आक्रमण गरेको थियो। हाल उक्त क्षेत्रमा तनाव घटेको बताइएको छ। कतार सरकारले मानवीय क्षति नभएको स्पष्ट पारेको छ। कतिपय मिसाइलहरू निस्तेज पारिएका थिए भने केही टुक्रा अड्डाभित्र खसेका थिए।
यो अवस्थामा कतारले कूटनीतिक माध्यमबाट निर्णायक भूमिका खेलेको देखिएको छ। रिपोर्ट अनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानसँग सिधा संवाद गरी युद्धविरामका लागि दबाव दिएका थिए। कतारले विगतमा गाजाका युद्धमा पनि मध्यस्थकर्ताको भूमिका खेलेको थियो, र यो घटनाले क्षेत्रीय शान्तिका लागि उनीहरूको भूमिकालाई थप सुदृढ बनाएको छ।



