काठमाडौं, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) लाई “राष्ट्रिय गौरव” को संज्ञा दिँदै यसलाई कुनै हालतमा रोक्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत र सार्वजनिक कार्यक्रममार्फत उनले एनपीएलको निरन्तरताको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।
बिहीबार साँझ फेसबुकमा दुई पोस्ट गर्दै प्रधानमन्त्री ओलीले लेखे, “एनपीएल रोकिनु हुँदैन” र “एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस्।” उनले यसलाई खेलकुद क्षेत्रको आत्मसम्मानसँग जोडिएको विषय भन्दै यसप्रति गरिने अनावश्यक राजनीतिकरणको आलोचना गरे।
गत डिसेम्बरमा सम्पन्न एनपीएलको पहिलो संस्करणपछि आर्थिक पारदर्शिताबारे उठेका प्रश्नका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यस विषयमा छानबिन भइरहेको छ। तर, छानबिन नसकिन्जेल एनपीएलका कुनै काम अघि नबढाउने भन्ने राखेपका पत्राचारलाई ओलीले कार्यक्षेत्र बाहिरको हस्तक्षेपको रूपमा टिप्पणी गरे।
सातदोबाटोस्थित राष्ट्रिय खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइपर्फोमेन्स सेन्टर उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “एनपीएलको भव्य तयारी गर्नुस्, यो हाम्रो राष्ट्रिय गौरव हो। यसको निरन्तरता अत्यावश्यक छ। खेललाई राजनीति होइन, लगानी र प्रोत्साहन चाहिन्छ।”
उनले सरकारमा आएपछि राजनीतिक दलले आफ्नो क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्दै थपे, “कृषि, उद्योग, संगीत, साहित्य वा खेलकुद— जुन क्षेत्रमा जिम्मेवारी छ, त्यही क्षेत्रमा काम गर्नुपर्छ। सरकारमा आएर राजनीति गर्न हुँदैन। खेलकुदमा राजनीति होइन, प्रतिबद्धता चाहिन्छ।”
ओलीले पटक–पटक रोकिँदै आएको १०औं राष्ट्रिय खेलकुद पनि अब निर्धारित मिति मंसिरमै गर्नुपर्ने चेतावनी दिएका छन्। “अब सार्ने विषय नै छैन। यदि फेरि सारियो भने त्यो लज्जाको कुरा हुनेछ,” उनले दोहोर्याए।
प्रधानमन्त्रीको यो धारणा एनपीएल र खेलकुद क्षेत्रमा देखिएको अनिश्चयता हटाउन प्रयास भएको देखिन्छ। अब सरकार, राखेप र नेपाल क्रिकेट संघले एनपीएललाई सशक्त र पारदर्शी रूपमा अगाडि बढाउने दबाव महसुस गर्नुपर्ने समय आएको छ।



