काठमाडौं, साउन ५ — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन्।
पार्टीको नवौं केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीले अहिलेसम्म स्पष्ट भूमिकामा नआएको र कस्ता काम गर्ने भन्ने उल्लेख नगरेकाले अरूलाई उनको प्रवक्ता बन्न उपयुक्त नठानेको बताएका छन्।
ओलीले भण्डारीलाई पछ्याउँदै हिँड्ने नेताहरूप्रति असन्तुष्टि व्यक्त गर्दै चुनाव हारेका नेताहरुले समेत उनलाई पछ्याउनुपर्ने नभएको बताए।
ओलीले पार्टीभित्र कुनै अस्वस्थ गतिविधि हुन नदिन बलियो इच्छाशक्ति राखेको बताए। उनले पार्टीको एकता र संगठन मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै, एमालेले सधैं अनेकौं आक्रमण भोग्दै आएको र वर्तमानमा पनि विरोधीहरूले झूठा आरोप र अफवाह फैलाइरहेको बताए। प्रधानमन्त्री ओलीले एमाले भित्र गालीगलौज र अस्वस्थ प्रवृत्तिको सैद्धान्तिकरण गर्नेहरूलाई कडा आलोचना गरे।
पार्टीमा अस्वस्थ गतिविधि हुन नदिने उनको स्पष्ट सङ्कल्प छ। उनले एमालेको आन्दोलन सधैं हमला भोग्दै आएको बताउँदै विरोधीहरूले पार्टीलाई विभाजित गर्न अनेक तरिकाले काम गरिरहेको आरोप लगाए।
उनले पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउन एकजुट भएर मिसन ०८४ पूरा गर्नुपर्ने जोड दिए। साथै, आफ्नै स्वार्थमा सीमित भएर संकीर्ण सोच नअपनाउन नेताहरुलाई निर्देशन दिएका छन्।
ओलीले आफूले पार्टीको उमेर हद ७० वर्ष हटाएको भए पनि अहिलेको अवस्था परिवर्तन भई सर्तक बन्नुपर्ने अवस्था आएको स्वीकार गरे। उनले पार्टीलाई लोकतान्त्रिक र स्थिर बनाउने उद्देश्यले कदम चालिरहेको बताए र अस्वस्थ गतिबिधिलाई कुनै हालतमा स्वीकार नहुने दृढता व्यक्त गरे।



