३० असार, काठमाडौं — एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनाबारे चर्किएको बहसबीच विमान सुरक्षा विज्ञ क्याप्टेन मोहन रंगनाथनले दुर्घटना जानाजान गराइएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले प्रारम्भिक अनुसन्धान रिपोर्ट र ककपिट अडियोलाई आधार बनाउँदै यो निष्कर्षमा पुगेको दाबी गरेका हुन्।
रंगनाथनका अनुसार, जहाजका दुबै इन्धन नियन्त्रण स्विचहरू म्यानुअली ‘कटअफ’ मा सारिएका थिए, जुन स्वचालित रूपमा हुने प्रक्रिया होइन। यी स्विचहरू बन्द गर्न बलपूर्वक तान्नुपर्ने हुँदा सामान्य त्रुटि वा कम्पनका कारण स्वतः बन्द हुन सक्दैनन्।
ककपिट संवादमा पाइलटहरूबीच भएको संवाद— “तिमीले किन अफ गर्यौ?” र जवाफ— “मैले गरेको होइन” भन्ने कुराले रहस्य गहिरिएको छ। टेकअफको समयमा जहाज उडाइरहेका पाइलट दुबै हातले कन्ट्रोलमा हुन्छन् भने पाइलट मोनिटरको हात स्वतन्त्र हुन्छ भन्ने प्राविधिक तथ्य औंल्याउँदै, रंगनाथनले स्विच सार्ने सम्भावना पाइलट मोनिटरतर्फ देखिएको बताएका छन्।
उनले पाइलटमध्ये एकजना मानसिक तनावमा रहेको र आमाको निधनपछि विक्षिप्त रहेको भन्ने कुरालाई पनि गम्भीरताका साथ लिएर अनुसन्धान गर्नुपर्ने बताएका छन्। पाइलट मेडिकल सर्टिफिकेट पाएको भए पनि मानसिक स्वास्थ्य परीक्षणले चुक्न सक्ने सम्भावनालाई उनले नजरअन्दाज गर्न नहुने बताएका छन्।
रंगनाथनले अघिल्ला विमान दुर्घटनाहरू जस्तै जर्मनविङ्स, सिल्कएयर, मलेसिया एयरलाइन्स लगायतका घटनाहरू पनि उद्धृत गर्दै मानसिक तनावले पाइलटहरूबाट यस्तो निर्णय लिन सकिने बताएका छन्।
यद्यपि भारत सरकार र एएआईबीले अहिलेसम्म पाइलटको नियतबारे कुनै निष्कर्ष निकालेका छैनन्। तर यो घटनाले भारतको विमान सुरक्षाप्रणाली र पाइलटको मनोवैज्ञानिक मूल्याङ्कन प्रक्रिया माथि गम्भीर प्रश्न उठाएको छ।



