काठमाडौँ, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानतर्फ प्रस्थान गर्न लागेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा सहर पुग्ने कार्यक्रम तय भएको छ।
सम्मेलन यही साउन २० देखि २३ गते (अगस्ट ५–८) सम्म सञ्चालन हुनेछ। नेपालले एलएलडिसी समूहको अध्यक्षता गरिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्नेछन्। साथै, उहाँ एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्ष पनि रहने छन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुखहरूसँग तथा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूका उच्चपदस्थ अधिकारीहरूसँग औपचारिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रमूख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, केही उच्चपदस्थ सरकारी अधिकारी, सरकारी सञ्चारमाध्यमका पत्रकारहरू तथा सुरक्षाकर्मीहरू पनि सहभागी छन्।
एलएलडिसी सम्मेलनले विश्वव्यापी व्यापारमा पहुँच अभाव, यातायात पूर्वाधारको कमजोरी, खाद्य सुरक्षा तथा वातावरणीय संकट जस्ता समस्यामा रहेका भूपरिवेष्टित राष्ट्रहरूलाई समावेशी समाधान खोज्न प्रेरित गर्ने विश्वास गरिएको छ। रणनीतिक साझेदारी, लगानी प्रवाह, र अन्तर्राष्ट्रिय सहयोग विस्तारमार्फत दिगो विकास लक्ष्यहरू हासिल गर्न सम्मेलन निर्णायक बन्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीको यो भ्रमण साउन २३ गते शुक्रबार राति सम्पन्न हुनेछ, र उहाँ स्वदेश फर्किने कार्यक्रम रहेको छ।



