काठमाडौं, जेठ १९ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटसले व्यापक चर्चा पाएको छ। उनले एक पोस्टरसहितको स्टाटसमा आफूलाई ‘झोले’ भन्ने शैलीमा पहिचान दिएका छन्, जुन शब्द सामान्यतया नकारात्मक रूपमा प्रयोग गरिँदै आएको हो।
ओलीले प्रयोग गरेको पोस्टरमा घाम अस्ताउँदै गरेको झल्को दिने पृष्ठभूमिमा राष्ट्रिय झण्डा, देशको नक्सा, र आफू मुस्कुराउँदै हात जोडिरहेको तस्बिर छ। त्यही पोस्टरमा ठूलो सुन्तला रङको अक्षरमा लेखिएको छ — ‘म झोले हो’। साथै, सेतो सानो अक्षरमा थपिएको सन्देशमा भनिएको छ — “एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।”
यो सन्देशमार्फत उनले ‘झोले’ शब्दको अर्थ सकारात्मक रुपमा पुनः परिभाषित गर्ने प्रयास गरेका छन्। उनका अनुसार, समाजमा जो परिवर्तन र विकासको पक्षमा उभिन्छ, उसलाई झोले भनेर हेला गरिए पनि त्यो सच्चाइबाट टाढा जानु हुँदैन।
फेसबुक स्टाटसमा ओलीले लेखेका छन्, “हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं ।”
तर स्टाटस पोस्ट गरेपछि उनको पोस्टमा आएका प्रतिक्रियाहरूमा मिश्रित भावना देखिएको छ। केहीले समर्थन जनाए पनि धेरैले आलोचना गरेका छन्। अधिकांश कमेन्टहरू नकारात्मक तथा आलोचनात्मक छन्, केही त अभद्र भाषा प्रयोगसम्म पुगेका छन्।



