काठमाडौं, असोज ७ — फ्रान्सका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ पुरुष अवार्ड जितेका छन्। उनले सन् २०२४–२५ को सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को लागि उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन्स लिग जितेका थिए। लिगमा डेम्बेलेले ३७ गोल र १५ असिस्ट गरेर आफ्नो योगदान सुनिश्चित गरे।
महिलातर्फको बालोन डि’ओर अवार्ड लगातार तेस्रो वर्ष स्पेनकी एइताना बोनमतीले जितेकी छन्। उनी स्पेनिस क्लब बार्सिलोना र राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडी हुन्।
युवातर्फको उत्कृष्ट खेलाडीको अवार्ड लामिन यमालले जितेका छन्। महिलातर्फको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनकी भिकी लोपेजले जितिन्।
सिजनको समग्रमा पीएसजीलाई वर्षको उत्कृष्ट पुरुष टोलीको अवार्ड दिइएको छ। यसैगरी पीएसजीका प्रशिक्षक लुइस एनरिके उत्कृष्ट प्रशिक्षक र च्याम्पियन्स लिग विजेता गोलरक्षक जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षक घोषित भएका छन्।
महिलातर्फ आर्सनललाई वर्षको उत्कृष्ट टोलीको अवार्ड दिइएको छ। उत्कृष्ट स्ट्राइकर पुरुषतर्फ भिक्टोर ग्योकेरेस र महिलातर्फ इवा पाजोर घोषित भएकी छन्।



