काठमाडौं, साउन १९ – कक्षा १२ को परीक्षाफल आज सोमबार सार्वजनिक हुने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न साँझ ५ बजे बैठक डाकेको छ।
बोर्डका अनुसार आइतबार नतिजाको अन्तिम परीक्षण (डेमो) सम्पन्न भइसकेकाले आज नतिजा प्रकाशित गर्न सम्भव हुने जनाइएको छ। प्रारम्भिक कार्य सम्पन्न भइसकेको र प्राविधिक तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी स्रोतले दिएको छ।
यसअघि साउन १५ भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको थियो। तर गत चैत २० देखि शिक्षकहरूको आन्दोलनका कारण काम प्रभावित भएपछि प्रक्रिया केही ढिला भएको हो। आन्दोलनले परीक्षा तालिकामा पनि असर पारेको थियो। मूलतः ११ वैशाखमा हुने भनिएको परीक्षा २१ वैशाखदेखि सुरु भएको थियो।
यस वर्ष कक्षा १२ को परीक्षामा करिब ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। नतिजा आज साँझसम्म विभिन्न अनलाइन प्लेटफर्म तथा एसएमएस सेवामार्फत हेर्न सकिने छ।
नतिजा प्रकाशित भएपछि विद्यार्थीहरूले निम्न तरिकाले आफ्नो नतिजा हेर्न सक्नेछन्:
- बोर्डको वेबसाइट (neb.gov.np, result.neb.gov.np)
- नेपाल टेलिकमको वेबसाइट (neb.ntc.net.np)
- मोबाइलबाट SMS: ‘NEB <space> SYMBOL NUMBER’ टाइप गरी 1600 मा पठाउने।
- Nepal Telecom SIM बाट *1600# डायल गरेर समेत नतिजा हेर्न सकिन्छ।
- 1601 नम्बरमा फोन गरी IVR प्रणाली प्रयोग गरेर।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीले अपनी ग्रेडसहित पूरै मार्कशीट हेर्न सक्नेछन् र आवश्यक भएमा डाउनलोड वा प्रिन्ट गर्न सक्नेछन्।



