काठमाडौं, साउन ७ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा कम्युनिष्ट प्रधानमन्त्रीकै नेतृत्व हुँदाहुँदै पनि जनताले चाहेजस्तो परिवर्तन र परिणाम नदेखिएको टिप्पणी गरेका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपालले सरकारबाट प्रभावकारी काम नहुनु दु:खद भएको बताए। “कम्युनिष्ट नेताको नेतृत्वमा सरकार चलिरहेको छ, तर देशको अवस्था अझै पनि राम्रो छैन,” उनले भने, “जनता निराश छन्। सरकारबाट अपेक्षित परिणाम आएको छैन।”
नेपालले सामाजिक कुरीति र समस्याहरूको पनि कडा आलोचना गरे। उनले छाउपडी प्रथाका कारण महिलाले ज्यान गुमाउनु परेको घटनालाई उल्लेख गर्दै भने, “कम्युनिष्ट पार्टीहरू स्थानीयस्तरमा छन् तर यस्ता कुप्रथालाई अन्त्य गर्न उनीहरू गम्भीर छैनन्।”
साथै, उनले अब नेपालको आर्थिक प्रणाली र नीति कस्तो हुनुपर्छ भन्नेबारे गम्भीर बहस आवश्यक रहेको औंल्याए। उनले छुवाछुत, छाउपडीजस्ता सामाजिक बन्धनको अन्त्य गर्न अब देशव्यापी जागरण अभियान चलाउनुपर्ने बताए।



