‘काँटा लगा’ गीतबाट चर्चित भारतीय अभिनेत्री तथा मोडल शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित आफ्नै निवासमा शुक्रबार राति हृदयघात (कार्डियाक अरेस्ट) भएपछि उनका पति पराग त्यागी र अन्य तीनजनाले उनलाई बेल्भ्यू मल्टिस्पेशियालिटी अस्पताल पुर्याएका थिए, तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
शेफालीको शव पोस्टमार्टमका लागि कूपर अस्पताल पठाइएको छ। मुम्बई प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र फोरेन्सिक टोलीले प्रमाण सङ्कलन गरिरहेको छ। हालसम्म उनको मृत्युको आधिकारिक कारण सार्वजनिक भइसकेको छैन, यद्यपि प्रारम्भिक रिपोर्टहरूमा हृदयघात उल्लेख गरिएको छ।
शेफाली जरीवाला सन् २००२ मा ‘काँटा लगा’ म्युजिक भिडियोबाट रातारात चर्चित भएकी थिइन्। उनले ‘मुझसे शादी करोगी’ लगायत बलिउड र कन्नड चलचित्र, ‘नच बलिये’ तथा ‘बिग बोस १३’ जस्ता रियालिटी शोहरूमा समेत अभिनय गरेकी थिइन्।
उनको असामयिक निधनले भारतीय मनोरञ्जन उद्योगमा शोक छाएको छ।



