काठमाडौं, भदौ २३ — काठमाडौं बाहिर पनि जेनजी युवाहरूको आन्दोलन चर्किएको छ। सामाजिक सञ्जाल बन्द र सरकारको अव्यवस्था विरोधमा सुरु भएको आन्दोलन अब सुनसरी, झापा, कर्णाली र रुपन्देहीसम्म फैलिएको छ।
सुनसरीको इटहरीमा प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको कार्यालयमा आगो लगाएका छन्। पालिका परिसरमा प्रवेश गरेका प्रदर्शनकारीले मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाएको स्थानीय प्रशासनले जनाएको छ। अनियन्त्रित प्रदर्शनका कारण प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लागू गरेको छ। यस क्रममा दुई जनाको मृत्यु भएको छ।
झापाको दमकमा भ्रष्टाचारविरुद्धको प्रदर्शनको क्रममा तीन जना घाइते भएका छन्। जेनजी युवाहरूले प्रधानमन्त्री निवासतर्फ ढुंगामुढा प्रहार गरेका थिए। घाइतेहरूलाई अस्पतालमा उपचारका लागि लगिएको छ।
कर्णाली प्रदेशमा जेनजीहरूले मुख्यमन्त्री कार्यालयअगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन्। वीरेन्द्रनगरको मंगलगढी चोकमा सुरु भएको विरोध र्याली घण्टाघर अगाडि कोष सभामा परिणत भएको छ।
बुटवलमा पनि आन्दोलन चर्किएको छ। जेनजी युवाहरूले एमाले पार्टी कार्यालय घेराउ गरेका छन्। बुटवल उपमहानगरपालिकाको मुख्य गेट र राजमार्गमा प्रदर्शन भएका कारण जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरेको छ।
अहिले विभिन्न सहरमा प्रदर्शनकारी र प्रशासनबीच तनाव कायम छ, र आन्दोलन अझै जारी रहेको छ।



