काठमाडौं, २८ भदौ। काठमाडौं महानगरपालिकाले पर्सि (सोमबार) बाट सबै विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। गत भदौ २३ र २४ गते जेनजी युवाहरूको प्रदर्शनका कारण धेरै विद्यालयहरू बन्द भएका थिए।
प्रदर्शनको समयमा विद्यालय भवनहरूमा केही तोडफोड र अव्यवस्था देखिएपछि विद्यार्थी, शिक्षक र अभिभावकहरूको सुरक्षा र व्यवस्थापनलाई मध्यनजर गर्दै महानगरपालिकाले यस निर्णयको घोषणा गरेको हो।
महानगरपालिकाले शिक्षक र विद्यालय कर्मचारीहरूलाई आइतबारदेखि नै विद्यालयमा उपस्थित भई प्रशासनिक कामहरू गर्न, सरसफाइको जिम्मेवारी लिन र कक्षाको तयारी गर्न आग्रह गरेको छ। विद्यालय भवन, कक्षा कोठा वा अन्य संरचनामा क्षति भएमा त्यसको विवरण तुरुन्तै महानगरपालिकामा उपलब्ध गराउनुपर्ने निर्देशन पनि जारी गरिएको छ।
विद्यार्थीहरूको सहज पठनपाठन सुनिश्चित गर्न अभिभावकहरूलाई पनि सक्रिय रूपमा संलग्न हुन भनिएको छ। अभिभावकहरूले आफ्ना बालबालिकाको उपस्थिती र सुरक्षामा सहयोग गर्नुपर्ने, साथै स्थिति सामान्य नहुन्जेल विद्यार्थीलाई विद्यालयमा ल्याउन र लैजान ध्यान दिनुपर्ने महानगरपालिकाको निर्देशनमा उल्लेख छ।
महानगरले यस निर्णयसँगै शिक्षक, विद्यार्थी र अभिभावकलाई सुरक्षित र व्यवस्थित वातावरणमा शिक्षण प्रक्रिया सञ्चालन गर्न प्राथमिकता दिएको छ। साथै, विद्यालयहरूमा आवश्यक पुनर्निर्माण वा मर्मतसम्भारको काम तीव्र गतिमा अघि बढाउने योजना समेत बनाइएको छ।



