काठमाडौं, १० भदौ – गोरखापत्रमा प्रकाशित लेखको विरोधमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सन्तोष कुमार सिलवाल हुन्, जसलाई प्रहरीले माइतीघर मण्डला क्षेत्रबाट नियन्त्रणमा लिएको छ। उनलाई सन्तोष राजावादी नामले पनि चिनिन्छ।
सन्तोष धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका हुन् र हाल काठमाडौंको कलंकीमा बस्दै आएका छन्। प्रहरीका अनुसार, उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनमा समेत पक्राउ परेका व्यक्ति हुन्।
समस्या त्यसपछि सुरु भयो जब गोरखापत्रमा प्रकाशित “निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर” शीर्षकको लेखको विरोधमा सन्तोषले पत्रिका च्यात्ने र जलाउने प्रयास गरेका थिए। प्रहरीले उनलाई दिउँसो २ बजेर २५ मिनेटमा नियन्त्रणमा लिएको र जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको जानकारी एसपी अपीलराज बोहराले दिएका छन्।
प्रहरीले घटनालाई नियन्त्रणमा राख्न तत्काल कदम चाल्दा थप असान्ति फैलिनबाट रोकिएको बताइएको छ।



