काठमाडौं, असोज ५ — टीकापुरको धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले २५ दिनको तालिम र ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण उपलब्ध गराएपछि स्थानीय महिला उद्यमी बन्न सफल भएका छन्।
टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीले तालिमपछि केराको रेसाबाट कपडा बुन्न सुरु गरेकी छन्। उनले भन्छिन्, “खेर जाने केराको बोटबाट कपडा हुन्छ भन्ने विश्वास गर्न मुस्किल थियो, अहिले आफैं बनाउन थालेकी छु। परिवारले पनि अब विश्वास गर्न थालेको छ।”
सहकारीले आठ महिला सदस्यलाई तालिममा सहभागी गराएर उद्यममा जोडेको छ। महिला उद्यमीहरूले उत्पादन गरेको कपडा काठमाडौंको बजारमा बिक्री भइरहेको छ। प्रतिमिटर तीन सय रुपैयाँमा बजारमा उपलब्ध कपडा हाल पर्याप्त मागका कारण उपलब्ध गराउन चुनौतीपूर्ण भइरहेको सहकारीले जनाएको छ।
सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार, केराको थामबाट आवश्यक कच्चा पदार्थ निःशुल्क उपलब्ध छ, तर महिलाहरूले आधुनिक मेसिन र थप सीपको सहयोग पाए अझ बढी उत्पादन गर्न सक्ने अवस्था बनेको छ। महिलाहरूले कपडा उत्पादनसँगै टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीजस्ता सामग्री बनाउन समेत सक्ने क्षमता देखाएकी छन्।
टीकापुरमा हाल करिब एक हजार हेक्टर क्षेत्रफलमा केराखेती भइरहेको छ। उत्पादन भएको केराको बोटबाट रेसा निकालेर कपडा बनाउने प्रक्रिया स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम साबित भएको छ।
जुगरानी र उनका सहकर्मीहरूले तालिम र उपकरण सहयोगले जीवनमा ठूलो परिवर्तन ल्याएको महसुस गरेका छन्। उनीहरू भन्छन्, “सीप आएपछि आम्दानीको समस्या हल हुन्छ र समाजको दृष्टिकोण पनि फेरिन्छ।”



