काठमाडौं, साउन १६ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको एमाले विभाजन सम्बन्धी अभिव्यक्तिमाथि कडा प्रतिक्रिया दिएका छन्। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै माधवकुमारले खनालको भनाइ सत्य भए पार्टीभित्र उसको बस्ने ठाउँ नरहेको स्पष्ट पारेका छन्।
माधवकुमारले भने, “अचेल त एआईको जमाना हो, बोल्दै नबोलेको कुरा पनि आइदिन सक्छ, स्वर मिलाएर। यदि झलनाथले भनिवाट पार्टीमा रहनु हुँदैन भने त उनलाई तुरुन्तै राजीनामा दिनु पर्ने हुन्छ। उनी नैतिक रुपमा पनि पार्टीमा बस्न सक्दैनन्।”
पूर्वप्रधानमन्त्री झलनाथ खनालले केही दिन अघि टेलिभिजन अन्तर्वार्तामा एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको बताएका थिए। उनले उक्त निर्णय अहिले आएर गलत जस्तो लागिरहेको उल्लेख गर्दै, “जतिबेला पार्टी टुट्यो, त्यो नै गलत रहेछ भन्ने अवस्थामा आइपुगेको छु,” भनेका थिए।
खनालको यस अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादी भित्रको आन्तरिक विवाद पुनः सतहमा आएको देखिन्छ। अध्यक्ष नेपालको कडा भाषा र राजीनामा सम्बन्धी संकेतले पार्टी नेतृत्वभित्र गम्भीर मतभेद उब्जिएको संकेत दिन्छ।



