काठमाडौं, साउन १० — गाजामा जारी मानवीय संकट गम्भीर बन्दै गएको छ। संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले गाजाका तीनमध्ये एक जनाले कैयौं दिनदेखि भोकमरी भोगिरहेको जनाएको छ। कुपोषण तीव्र रूपमा बढिरहेको छ भने ९० हजार महिला र बालबालिकालाई तत्काल उपचार आवश्यक रहेको बताइएको छ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ। सन् २०२३ को अक्टोबरदेखि युद्ध सुरु भएयता भोकमरीले गर्दा गाजामा कम्तीमा ११५ जनाको ज्यान गएको छ।
इजरायलले गाजामा सबै वस्तुहरूको आवागमनमा कडाइ गरेको आरोप हमासले लगाएको छ भने इजरायलले भने मानवीय सहायता रोकिएको दाबी अस्वीकार गर्दै, हमासलाई जिम्मेवार ठहराएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भोकमरी र कुपोषणको समस्या बालबालिका र वृद्धवृद्धामा धेरै गम्भीर बन्दै गएको रिपोर्ट गरेका छन्। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गाजामा नाकाबन्दीका कारण मानवनिर्मित भोकमरीको अवस्था सिर्जना भएको बताएका छन्।
गाजामा अस्पतालहरू कुपोषित बालबालिकाले भरिएका छन् भने उनीहरूको मृत्यु दर बढ्दो छ। मार्च २०२३ मा इजरायलले गाजामा पूर्ण नाकाबन्दी लगाएको थियो र मे महिनाको अन्त्यदेखि मात्र न्यूनतम मात्रामा सहायता सामग्री प्रवेश गर्न थालेको बताइएको छ।
संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सी (ओचा) ले वितरण केन्द्रहरूमा रहेका सहायता सामग्री प्रमाणीकरण गर्न इजरायलले रोकावट गरेको जानकारी दिएको छ। गाजामा पानी र खाना अभावले मानवीय संकट अझ गम्भीर बनेको छ।
अन्तर्राष्ट्रिय समुदायले गाजामा सहायता पुर्याउन छिटो कदम चाल्नुपर्नेमा जोड दिइरहेको छ। जर्मनी, फ्रान्स र बेलायतले संयुक्त रूपमा गाजामा आपूर्ति रोक लगाइएको प्रतिबन्ध हटाउन र युद्ध तुरुन्तै रोक्न इजरायललाई आग्रह गरेका छन्।
बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले हवाई मार्गबाट गाजामा सहायता पुर्याउने कार्यमा बेलायत सक्रिय रहने संकेत गरेका छन्। साथै, गम्भीर रोगी बालबालिकालाई बेलायत ल्याएर उपचार गर्ने प्रयासलाई छिटो कार्यरूप दिनेको कुरा पनि बताएका छन्।
गाजामा मानवीय संकट बढ्दै गएपछि विश्वभर चिन्ता फैलिएको छ र प्रभावकारी सहयोगको आवश्यकता बढेको छ।



