काठमाडौं, २५ जेठ —संसद भवन नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।
सभामुख देवराज घिमिरेले पटक–पटक दलहरूसँग छलफल गर्दै संसद अवरोध अन्त्य गर्न प्रयास गरिरहेका छन्। आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ, तर सत्तारूढ र प्रतिपक्षी दलबीच सहमति जुट्न सकेको छैन।
विपक्षी दलहरूको बैठकमा संसद् गतिरोध खुलाउने विषयमा छलफल भइरहेको छ। यसअघि सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पनि संसद् अवरोध अन्त्यका लागि भेटवार्ता भएको थियो। हालसम्म विपक्षी दलहरू गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागमा अडिग छन्, जबकि सत्तापक्षले ती माग स्वीकार गर्न नसकिने अडान लिएको छ।
यसैबीच, सभामुख घिमिरेले संसद् सञ्चालनका लागि निष्कर्षमा पुग्न दलहरूलाई आग्रह गर्दै संसद् गतिरोध छिट्टै अन्त्य हुने आशा व्यक्त गरेका छन्।



