काठमाडौं, असार ३२ — गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र समन्वय अनिवार्य रहेको बताएका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल उच्च जोखिमपूर्ण भूगोलमा रहेको भन्दै विपद्को सामना गर्न सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार सातै प्रदेशमा आपतकालीन गोदामहरू स्थापना भइसकेका छन्। तीमध्ये काठमाडौँस्थित गोदाम भने विपद् व्यवस्थापन प्राधिकरणले सञ्चालन गर्नेछ, बाँकी प्रदेशका गोदामहरूको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ।
गृहमन्त्री लेखकले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिक भएकाले तल्लो तहमा समेत विपद् व्यवस्थापनमा सशक्त उपस्थिति आवश्यक रहेको बताए। उनले विपद् पूर्वतयारी, पूर्वसूचना, उद्धार र पुनःस्थापनामा तीनै तहका निकायले समन्वय गर्नुपर्नेमा जोड दिए।
पहिले विपद्को बेला गोदामबाट राहत सामग्री प्रयोग गर्दा प्रक्रियामा जटिलता आउने गरेको भन्दै उनले अब प्रक्रिया सरल बनाइएको र प्रदेश सरकारमार्फत गोदाम सञ्चालनको जिम्मेवारी सुम्पिएको स्पष्ट पारे।



