काठमाडौं, भदौ ७ — नेपाल ओलम्पिक कमिटी (एनओसी)मा देखिएको विवाद फेरि तातो बिन्दुमा पुगेको छ। जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसीले हालै कार्यसमिति बैठक बसेर विभिन्न निर्णय गरी एनओसीको नाममा विज्ञप्ति जारी गरेकोमा तदर्थ समितिले आपत्ति जनाएको छ।
तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीका अनुसार यस्ता गतिविधिले खेल संघका पदाधिकारीहरूको मानमर्दन हुने र खेल क्षेत्रलाई भ्रममा पार्ने काम हो। समितिले आफूहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधिकारिक कमिटी भएको दाबी गर्दै गैरकानुनी गतिविधि रोक्न चेतावनी दिएको छ।
जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको कमिटीलाई सरकारले मान्यता नदिएको र त्यसको विरोधमा तदर्थ समिति गठन गरिएको हो। सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीलाई अवैधानिक ठहर गर्दै ओलम्पिक भवनमा ताला लगाएको थियो भने तदर्थ समितिले ओलम्पिक भवनमा प्रवेश गरेको छ।
दुवै पक्षले एक अर्कालाई अवैध र तथाकथित कमिटी भन्दै विरोध गरिरहेका छन्। यो विवादले नेपालको खेलकुद क्षेत्रमा गहिरो प्रभाव पार्यो र अन्तर्राष्ट्रिय खेलकुद आयोजकहरुसँगको सम्बन्धमा समेत समस्या उत्पन्न भएको छ।
यो विवादलाई दीर्घकालीन रूपमा समाधान गर्न तदर्थ समितिले आईओसी र ओसिएसँग समन्वय गरिरहेको समेत जनाएको छ।



