काठमाडौँ, ३१ जेठ — जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन भएको छ। भरतपुर महानगरपालिका–१ स्थित आफ्नै निवासमा शनिबार बिहान अचानक स्वास्थ्य समस्या देखिएपछि पियाको मृत्यु भएको हो। संघका सचिव सुरज ज्ञवालीका अनुसार पियालाई हृदयाघात भएको आशंका गरिएको छ र शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ।
४८ वर्षीय पिया हालैका वर्षहरूमा चितवन जिल्लामा क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादनमा सक्रिय रुपमा लागिपरेका थिए। सन् २०८० साउनमा क्यान चितवनको अध्यक्षमा निर्वाचित भएका पिया यसअघि संघका कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका थिए।
खेल क्षेत्रसँगै सञ्चार र व्यवसायमा पनि संलग्न रहेका पिया नारायणगढमा क्याफे सञ्चालक थिए र अघिल्लो दशकमा सिनर्जी एफएममा पत्रकारितामा पनि सक्रिय थिए।
पियाको पारिवारिक पृष्ठभूमिबारे जानकारी दिँदै सचिव ज्ञवालीले उनका एक छोरा र एक छोरी रहेको जनाए। उनका आमा र भाई भारतबाट नेपाल आउँदै छन् र आजै देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।



