काठमाडौं, भदौ १६ — चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा स्तरोन्नत गर्ने निर्णय गरेको छ।
अस्पतालमा थप २०० शय्या निर्माण गरी कुल ५०० शय्याको सुविधा उपलब्ध गराइनेछ। यस परियोजना अन्तर्गत अस्पतालमा अत्याधुनिक उपकरण र विशेषज्ञ सेवाहरू विस्तार गरिनेछ।
अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार, चिनियाँ टोलीले नेपालमा सम्भाव्यता अध्ययन पूरा गरी प्रतिवेदन बुझाइसकेको छ र आगामी वर्षभित्र भवन निर्माण सुरु हुने अपेक्षा गरिएको छ। नयाँ भवनमा एमआरआई, नयाँ सिटी स्क्यान र उच्च प्रविधि जडान गरिनेछ।
अस्पतालमा मुटु रोगको उपचारका लागि ‘क्याथल्याब’ सेवा सुरु हुने तयारी भइरहेको छ। यस सेवा अन्तर्गत मुटुका भल्ब समस्या, रगतको प्रवाहमा अवरोध र अन्य जटिल रोगको उपचार गरिनेछ। त्यस्तै, क्यान्सर उपचारका लागि ब्राकीथेरापी सेवा पनि सुरु गरिनेछ, जसमा रेडिएशन उपकरण प्रयोग गरी शरीरभित्रै विकिरणद्वारा उपचार हुने व्यवस्था हुनेछ।
डा. रेग्मीले बताए अनुसार, अस्पताल पूर्ण डिजिटलीकरणमा जान लागिरहेको छ। यस अन्तर्गत बिरामीहरूले आफ्नो प्रयोगशालाको रिपोर्ट मोबाइलबाट हेर्न सक्नेछन् र चिकित्सकले आफ्नो कम्प्युटरमा प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन्।
महिला स्वास्थ्य क्षेत्रमा पनि नयाँ पहल भइरहेको छ। अस्पतालले महिलामा पिसाब चुहिने, आङ खस्ने जस्ता समस्याको उपचारका लागि राष्ट्रिय केन्द्रको रूपमा सेवा दिने तयारी गरेको छ। यसका लागि विशेषज्ञ डाक्टर र प्रशिक्षित जनशक्ति तयार गरिएको छ।
अस्पतालले सरकारी अस्पतालहरूबीच अनुवांशिक अध्ययन र सङ्क्रामक रोगको अनुसन्धान गर्ने विशेष भूमिका पनि ग्रहण गर्नेछ। यसैगरी, प्रतिष्ठान निर्माणको तयारी भईरहेको छ र वर्तमानमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सम्बन्धन लिएर शिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।
हाल दैनिक रूपमा एक हजार भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्। यस स्तरोन्नत परियोजनाले अस्पतालको शय्या क्षमता, विशेषज्ञ सेवा र प्रविधि विस्तार गरी स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।



