काठमाडौं, जेठ १९ — चीनको एक साताको भ्रमण पूरा गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन्। चिनियाँ सरकार र चीनको कम्युनिस्ट पार्टीको विदेश विभागको औपचारिक निमन्त्रणामा चीन गएकी भण्डारी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धिमूलक भएको बताए। विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने दिशामा भ्रमणले सकारात्मक प्रभाव पारेको जनाए। उनका अनुसार भ्रमणले आर्थिक, कूटनीतिक र राजनीतिक तहमा आपसी समझदारी र सहयोग विस्तार गर्न सहयोग पुर्याएको छ।
भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति, कम्युनिस्ट पार्टीका शीर्ष नेतासहित उच्च अधिकारीहरूसँग भेटघाट गरेकी थिइन्। साथै उनले बेइजिङ र गान्सु प्रान्तमा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाएकी थिइन्।
भ्रमण टोलीमा मन्त्री भण्डारीका साथै एमालेका नेता रघुवीर महासेठ, कर्णबहादुर थापा लगायत सहभागी थिए। भ्रमणका क्रममा चिनियाँ नेताहरूले नेपालमा कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले राजनीतिक स्थायित्वको सन्देश दिएको भन्दै सकारात्मक धारणा व्यक्त गरेको जानकारी पनि मन्त्री भण्डारीले दिए।



