काठमाडौं, असार ३१ – भक्तपुरको भूमि सुधार तथा मालपोत कार्यालयमा ठूलो घुस प्रकरण सार्वजनिक भएको छ। कार्यालयका भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनीहरूलाई मंगलबार कार्यालयमै रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
घटनामा १४ रोपनी ४ आना जग्गाको मोही र तल्सिङ सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रकम मागिएको थियो। जग्गाको लगत कट्टा गरी मोहीको नाममा पुर्जा बनाइदिने सन्दर्भमा सेवाग्राहीले घुस मागिएको सूचना अख्तियारमा दिएपछि निगरानी बढाइएको थियो। सोही क्रममा रकम बुझ्दै गर्दा राउतलाई नियन्त्रणमा लिइएको हो।
कार्यालय सहयोगी राउतको साथबाट २४ लाख ५० हजार नगद र एक थान मोबाइल बरामद गरिएको छ। प्रमुख कुमार आचार्यको साथबाट भने दुईवटा मोबाइल डिभाइस पनि बरामद गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार यो कार्यमा दुवै जनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
भ्रष्टाचारविरुद्ध कडाइ गर्दै आएको अख्तियारले भूमि सम्बन्धी कार्यालयहरूमा बारम्बार यस्ता घटना दोहोरिरहेकाले निगरानी बढाएको छ। यसअघि पनि विभिन्न मालपोत र नापी कार्यालयका कर्मचारीहरू घुससहित पक्राउ परेका थिए।



