काठमाडौं, असार १४ — राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न वृक्षारोपणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। “हरियाली बढाऔँ, हिमाल जोगाऔँ” भन्ने नारासहित गोदावरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वन, वन्यजन्तु तथा जडीबुटीको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए।
उनका अनुसार सरकारले “एक घर, दुई रुख” अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ भने वन क्षेत्रमा फलफूलका बोटबिरुवा रोपेर मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने योजना बनाइएको छ। उनले पुराना कानुनहरूलाई समयसापेक्ष संशोधन गरेर वन व्यवस्थापन प्रभावकारी बनाउने पनि उल्लेख गरे।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले वृक्षारोपण समृद्धिको आधार भएको उल्लेख गरे। प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले देशको ४६ प्रतिशत भूगोल वन क्षेत्र भए पनि आम्दानी न्यून रहेकोमा चिन्ता व्यक्त गरे।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बाढीपहिरोले क्षति पुगेका क्षेत्रमा वृक्षारोपण र पुनर्निर्माणमा जोड दिनुपर्ने बताए। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वन ऐन तथा नियमावली संशोधन गरी वन स्रोतको उपयोग सहज बनाउनु पर्ने धारणा राखे।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनको अर्थतन्त्रमा योगदान बढाउनुपर्ने बताए। वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले शून्य कार्बन उत्सर्जन अभियानअन्तर्गत तीन करोड बिरुवा रोप्ने लक्ष्य राखिएको जानकारी दिए।
कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनको असर कम गर्न वृक्षारोपण र वन संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।



