काठमाडौं, असोज ७ — धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोला (बाँदरे मोड) मा मंगलबार बिहान खसेको ठूलो सुक्खा पहिरो हटाइएपछि नागढुंगा–मुग्लिन सडक फेरि दुईतर्फी सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब साढे पाँच बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। सडक बन्द हुँदा लामो दूरीका सवारी साधन राजमार्गमै अड्किए र यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार झण्डै १० घण्टापछि डोजरको सहयोगमा सडक सफा गरिएपछि यातायात सञ्चालनमा आएको हो। पहिरोको परिमाण ठूलो भएकाले काम सम्पन्न गर्न लामो समय लागेको उनले बताए।
सडक अवरुद्ध भएको अवधिमा सडक विभागले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो। अहिले भने सवारी साधन सहजै आवतजावत गर्न सक्ने स्थिति बनेको छ।



