काठमाडौं, भदौ २५ — काठमाडौँको कालीमाटीमा जारी जेनजी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। मृतकहरू २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी हुन्।
मंगलबारको झडपमा गोली लागेका उनीहरूलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा ल्याइएको थियो। अस्पतालका चिकित्सक डा. कुन्दन कर्णका अनुसार उपचारका प्रयास असफल भएपछि दुवैको मृत्यु भएको हो।
अर्जुन भट्टको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ भने उदयपुर घर भएका देव कुमार सुवेदीको शव उनका आफन्तहरूले त्रिवि शिक्षण अस्पतालमा लगेका छन्।
प्रहरी स्रोतका अनुसार हालसम्म प्रदर्शनका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या २१ पुगेको छ। यसअघि काठमाडौँमा १७ र इटहरीमा दुई जनाको मृत्यु भइसकेको थियो। प्रहरीतर्फ पनि ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।



