काठमाडौं, भदौ २६ — जेनजी आन्दोलनपछि देश असामान्य अवस्थामा पुगेको बेला चार ठूला राजनीतिक दलका युवानेताहरूले संयुक्त भर्चुअल छलफल गरेका छन्। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवानेताहरूले आफ्ना-आफ्ना दलभित्रको छलफलपछि आपसी विचारविनिमय गरेका हुन्।
नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, नेकपा एमालेका योगेश भट्टराई, ठाकुर गैरे, विद्या भट्टराई, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, राजन दाहाल, अमनलाल मोदी तथा रास्वपाका सोबिता गौतम र शिशिर खनाल भर्चुअल संवादमा एकअर्कासँग छलफलमा बसेका छन्।
संयुक्त छलफलले तीन प्रमुख निष्कर्ष निकालेका छन्—
- दलहरूले आफ्नै कार्यशैली र कमजोरीको आत्मसमीक्षा गर्नुपर्ने,
- जेनजीले उठाएका माग सम्बोधन गर्नुपर्ने,
- कुनै पनि प्रयासले मुलुकलाई पश्चगमनतर्फ लैजान खोजे प्रतिवाद गर्नुपर्ने।
नेताहरूका अनुसार आन्दोलनको मूल कारण राजनीतिक नेतृत्वको कमजोरी, भ्रष्टाचार र सुशासनको अभाव हो। भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन, युवाहरूका लागि रोजगारी सिर्जना, समान अवसर, र नातावाद अन्त्य जस्ता विषय अब दलहरूले तत्काल प्राथमिकतामा लिनुपर्ने उनीहरूको धारणा छ।
छलफलमा सहभागी नेताहरूले अघिल्ला आन्दोलनहरूसँग तुलना गर्दै अहिलेको जेनजी आन्दोलनलाई “राजनीतिक चेतनाको नयाँ स्वरूप” भनेका छन्। उनीहरूका अनुसार, यो आन्दोलनलाई दमन होइन, संवाद र सुधारमार्फत सम्बोधन गर्नु जरुरी छ।
तर, नयाँ सरकार गठनबारे भने उनीहरूको मत फरक देखियो। केही नेताले प्रधानमन्त्री संसदभित्रैबाट चुन्नुपर्ने धारणा राखे भने अरूले संसद्बाहिरको नेतृत्वलाई पनि विचार गर्नुपर्ने सुझाव दिए।
यद्यपि सरकार गठनको विषयमा एकमत हुन नसके पनि युवानेताहरूबीच देशलाई सुधारको बाटोमा लैजान साझा प्रतिबद्धता देखिएको छ। उनीहरूले लोकतन्त्रको विकल्प पुनः लोकतन्त्र मात्रै भएको स्पष्ट गर्दै, राजतन्त्र वा सैन्य शासनतर्फ फर्कने कुनै प्रयासलाई अस्वीकार गर्ने जनाएका छन्।



