१ असोज, काठमाडौं । हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण उद्योग तथा व्यापारिक क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोरेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार क्षतिको मात्रा करिब ३६ अर्ब रुपैयाँ पुगेको छ भने रोजगारीमा पनि प्रत्यक्ष असर परेको छ।
सीएनआईका अनुसार विभिन्न उद्योग, व्यवसाय र व्यापारिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन अझै जारी रहेको छ। मूल्यांकनको काम सकिँदा यो रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्मकै तथ्यांकअनुसार करिब साढे १५ हजारभन्दा बढी रोजगार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
क्षतिग्रस्त क्षेत्रमध्ये होटल तथा पर्यटन उद्योग, सुपरमार्केट, केबलकार सेवा र ठूला व्यापारिक घराना प्रमुख रूपमा परेका छन्। भाटभटेनी सुपरमार्केटका २८ शाखामध्ये २१ वटा शाखामा क्षति पुगेको छ। तीमध्ये केही तोडफोड मात्र भएकाले सञ्चालनमा फर्किसके पनि १२ शाखा भने पूर्ण रूपमा ध्वस्त भएर हाल बन्द रहेका छन्। यसले करिब १० हजार कर्मचारीको रोजगारी अस्थायी रूपमा प्रभावित भएको छ।
यस्तै, होटल संघ नेपाल (हान) का अनुसार करिब २५ होटलमा क्षति पुगेको छ। यस घटनाले करिब २ हजार कर्मचारीको जागिरमा असर पारेको छ। त्यस्तै, चौधरी ग्रुप, चन्द्रागिरी केवलकार, मौलाकाली केबलकारलगायतका व्यवसायले पनि ठूलो आर्थिक घाटा बेहोरेका छन्।
यद्यपि, प्रभावित कम्पनी तथा व्यवसायीहरूले तत्काल कर्मचारीलाई रोजगारीबाट हटाउने योजना नभएको बताएका छन्। उनीहरूले क्षति पुनःस्थापना गर्ने प्रयाससँगै कामदारलाई निरन्तरता दिन प्रतिबद्धता जनाएका छन्।



