काठमाडौं, भदौ २६ — ‘जेनजी’ आन्दोलनको क्रममा भएका हिंसात्मक घटनामा परी मृतकको संख्या ३४ पुगेको छ भने घाइतेको संख्या एक हजार ३ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा उपचारका क्रममा ३४ जनाले ज्यान गुमाएका छन् भने १,३६८ जना घाइते भएका छन्। मन्त्रालयले अस्पतालहरूसँग समन्वय गरी मृत्यु तथा घाइतेको विवरण सार्वजनिक गरेको हो।
अस्पतालमा उपचाररत घाइतेमध्ये निजामती कर्मचारी अस्पतालमा ४८, राष्ट्रिय ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना रहेका छन्।
यसैगरी उपचारपछि हालसम्म ९४९ जना घाइते घर फर्किसकेका छन्। मृतकमध्ये विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएका छन्, जसमध्ये राष्ट्रिय ट्रमा सेन्टर, एभरेष्ट, बयोधा, बी एन्ड सी, भेरी र काठमाडौँका मेडिकल संस्थाहरू प्रमुख छन्। मन्त्रालयले घटनाको तथ्याङ्क नियमित रूपमा अपडेट गर्दै आएको छ र घाइतेको उपचारमा ध्यान दिन आग्रह गरेको छ।



