काठमाडौं, असोज ४ — हुम्ला जिल्ला नाम्खा गाउँपालिका–३ खगालगाउँ स्थायी घर भई हाल काठमाडौँको तीनचुलीमा बस्दै आएका २४ वर्षीय थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्।
भदौ २४ गते काठमाडौँमा आयोजित जेनजी आन्दोलनमा सहभागि भएपछि उनी घर नफर्किएको परिवारजनले बताएका छन्। उनका बुबा टसी छिरिङका अनुसार भदौ २३ मा आन्दोलनमा सहभागी भएर फर्केका थुक्तेन भोलिपल्ट पनि दिउँसो करिब २ बजे प्रदर्शनमा निस्केका थिए। त्यसयता उनी सम्पर्कविहीन भएका हुन्।
परिवारले काठमाडौँका विभिन्न स्थानमा खोजतलास गरे पनि अहिलेसम्म थुक्तेनको कुनै अत्तोपत्तो पाइएको छैन। दुई छोरामध्ये कान्छा छोरा रहेका उनी हाल होटलमा काम गर्दै आएका थिए।
बेपत्ता भएको घटनापछि नाम्ख्योम हुम्ला बौद्ध समाजले औपचारिक खोजी प्रक्रिया अघि बढाउन पहल थालेको छ। समाजका अध्यक्ष अंगबहादुर लामाले बुधबार ऊर्जामन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै थुक्तेनको सक्दो छिटो खोजतलासका लागि सरकारलाई आग्रह गरेको बताए।
थुक्तेनले केही वर्षअघि नारायणथान गुम्बामा लामा शिक्षा अध्ययन सकेर काठमाडौँमा भतिजोसँगै बस्दै आएका थिए। समाजले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा सहभागी युवाको बेपत्ता हुनु गम्भीर विषय भएको उल्लेख गर्दै राज्यका सम्बद्ध निकायलाई सक्रिय भई छिटो भन्दा छिटो पत्ता लगाउन जोड दिएको छ।



