काठमाडौं, असोज ५ — जेन्जी आन्दोलनका क्रममा चौधरी समूहलाई ५ अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति पुगेको छ। २३ र २४ भदौमा भएको आन्दोलनले तोडफोड, आगजनी र लुटपाटका कारण समूहका विभिन्न प्रतिष्ठानहरूमा व्यापक क्षति पुर्याएको हो।
सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्सको कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यवसायिक मौज्दात, तयारी सामान र सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन्। त्यसैगरी, थापाथलीको सीजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा पनि तोडफोड र आगजनी गरिएको छ। सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास ‘रविभवन’ र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ।
यसैगरी, चितवनको भरतपुरमा रहेको सीजी ल्यान्डमार्क व्यावसायिक भवन र पसलहरूमा लुटपाट र तोडफोड गरिएको छ। जोरपाटीमा रहेको सीजी एजुकेसनको चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ। विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिने ६ वटा गाडीमा समेत आन्दोलनकारीले आगो लगाएको सीजीले जनाएको छ।
सीजीका अध्यक्ष विनोद चौधरीले सरकारलाई जानकारी गराउँदै, यस घटनापछि कर्मचारीलाई प्रभावित नगर्ने प्रतिबद्धता जनाएको छ। समूहले सतुङ्गल इलेक्ट्रोनिक्स डिभिजनमा प्रत्यक्ष १ हजारभन्दा बढी र अप्रत्यक्ष हजारौं रोजगारी सिर्जना भएको जनाउँदै, देशको अर्थतन्त्रमा समूहको योगदान उल्लेखनीय रहेको बताए।
क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि सीजीले सरकार समक्ष विभिन्न सुझाव राखेको छ। यसमा व्यवसायको दीर्घकालीन सुरक्षा प्रत्याभूति, बीमा दाबीको द्रुत भुक्तानी, क्षतिग्रस्त व्यवसायका लागि ऋण पुनर्संरचना र ब्याज मिनाहा, निर्माण सामग्री तथा प्लान्ट मेसिनरीको पैठारीमा शतप्रतिशत छुट, क्षतिग्रस्त सवारीसाधनमा सहुलियत, लेखा परीक्षणमा लचकता र सेज (विशेष आर्थिक क्षेत्र) बाहिरका उद्योगलाई समेत सेजसरह सुविधा प्रदान गर्नुपर्ने लगायतका सुझाव समावेश छन्।
यस घटनाले नेपालको व्यावसायिक वातावरणमा अनिश्चितता र चिन्ता बढाएको छ। व्यापारिक प्रतिष्ठानहरूको सुरक्षा र स्थायित्वको अभावले लगानीकर्ताहरूको विश्वासमा कमी आएको छ। यसका साथै, बेरोजगारीको दरमा वृद्धि र आर्थिक वृद्धिमा गिरावट आउने सम्भावना पनि बढेको छ।



