काठमाडौं, भदौ २४ — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २४ भदौमा पदबाट राजीनामा दिएका छन्। उनले यो कदम जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उठाएका हुन्।
राजीनामा दिने क्रममा सिंहले देशभर भइरहेको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनी घाइतेहरूका शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत आत्माहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
सिंहले आफ्नो वक्तव्यमा भनेका छन् कि नागरिकको जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले उनलाई आत्मसम्मानपूर्वक राजीनामा लिन बाध्य बनाएको छ। उनले जनताको अधिकार र भविष्यप्रति उत्तरदायी भएर शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै संवाद र सहकार्यबाट समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
सिंहले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, पार्टीका नेता तथा कार्यकर्ताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले नागरिकको जीवनभन्दा ठूलो केही नभएको अटल विश्वास व्यक्त गर्दै, आफ्नो निर्णय नागरिकको हितमा रहेको बताएका छन्।



