काठमाडौं, असार १९ — नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफू पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएको विषयमा कुनै आधिकारिक स्पष्टीकरण सोधिएको नभएको स्पष्ट पार्दै, भ्रम हटाउन आफैं सचिवालय बैठकमा निवेदन लिएर उपस्थित भएको बताएकी छन्।
आलोनगरस्थित पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै झाँक्रीले भनिन्, “टेलिभिजन र सामाजिक सञ्जालमा मलाई स्पष्टीकरण सोधिएको भन्ने हल्ला चलेको छ। तर म आफैंलाई अहिलेसम्म पार्टीबाट कुनै औपचारिक पत्र आएको छैन।”
बुटवलमा पार्टी सम्बद्ध युवाहरूको प्रशिक्षण कार्यक्रममा झाँक्रीले “मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं” भन्नेजस्ता विवादास्पद भनाइ दिएकी थिइन्। त्यसपछि पार्टीभित्र उनको अभिव्यक्तिलाई लिएर चर्को बहस सुरु भएको थियो।
पार्टी महासचिव घनश्याम भुसालले सार्वजनिक रूपमा संयमित बोल्न ध्यानाकर्षण गराएपछि झाँक्रीको भनाइलाई लिएर विवाद झन् चुलिएको हो। तर झाँक्री भन्छिन्, “कतिपय नेताहरूले मिडियामार्फत बोलेका हुन्, तर आधिकारिक रूपमा मलाई न त बोलाइएको छ, न त पत्र नै आएको हो।”
उनले पार्टीलाई आफ्नो कारणले कुनै नोक्सानी नहोस् भन्ने चिन्ताले सचिवालय बैठकमै उपस्थित भई आफ्नो धारणा राख्न आएको जनाइन्। “मैले केही बोल्दा पार्टीलाई असर नपरोस् भनेर १५ गते यस्ता विषयमा नबोल्न निर्देशन दिइएको थियो। तर त्यसपछि पनि केही पदाधिकारीहरू बोलिरहनुभएको छ,” उनले भनिन्।
झाँक्रीले पार्टीभित्रको आन्तरिक मतभेदलाई संवादबाट समाधान गर्नुपर्नेमा जोड दिँदै, सञ्चारमाध्यमको भर नपरी संस्थागत प्रक्रियाबाट निर्णय लिइनु आवश्यक रहेको बताइन्।



