काठमाडौं, भदौ ३ — अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ। बुधबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै श्रृंखलामा विजयी सुरुवात गरेको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन जोड्यो। आरिफ शेख ३३ रनसहित सर्वाधिक योगदानकर्ता भए भने आसिफ शेखले २९, कुशल भुर्तेलले २७ र लोकेश बमले ११ बलमा अविजित २५ रन बनाए। साथै, विपक्षीले दिएको ३२ अतिरिक्त रन पनि नेपालका लागि उपयोगी रह्यो।
१८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स १६.१ ओभरमै ११४ रनमा अलआउट भयो। नेपालका बलर नन्दन यादव खेलका हिरो बने, उनले ३ ओभरमा १७ रन खर्चिँदै ५ विकेट लिए। कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले पनि १–१ विकेट हात पारे।
होबार्टका लागि ब्राड होपले ३१, चार्ली वाकिमले २८ र जेन कर्टेनले २० रन जोडे तर अरु ब्याट्सम्यान टिक्न नसक्दा टोली भारी अन्तरले पराजित भयो। बलिङतर्फ निभेथन राधाकृष्णन र राफ माकमिलनले समान २–२ विकेट लिए।
यसअघि लगातार तीन खेलमा (एनटी स्ट्राइक, बंगलादेश ए र मेलबर्न स्टार्ससँग) पराजित भएको नेपालले अन्ततः चौथो खेलमा जित हात पार्दै आत्मविश्वास बढाएको छ।
नेपालले अब आफ्नो पाँचौं खेलमा बिहीबार मेलबर्न रेनेगेड्ससँग र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।



