काठमाडौं, भदौ ३१ – गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई उच्च मनोवलका साथ आफ्नो जिम्मेवारी निभाउन आग्रह गरेका छन्।
मंगलबार उनले युवाहरुको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी, एआईजी दान बहादुर कार्की लगायतले कार्यालयको अवस्था र क्षतिको बारेमा जानकारी प्रदान गरेका थिए।
गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् र सरकारले प्रहरीलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाएका छन्। उनले शान्ति सुरक्षा, सुशासन र नागरिक सेवामा सरकार गम्भीर रहेको उल्लेख गरे। उनले विश्वास व्यक्त गर्दै भने, “छिट्टै सबै कुरा सामान्य अवस्थामा फर्किनेछ। सरकारले निष्पक्ष र पारदर्शी ढंगले काम गर्नेछ र कसैसँग पनि पक्षपात गरिने छैन।”
जेनजी आन्दोलनको क्रममा ट्राफिक प्रहरी कार्यालयमा आगजनी भएपछि कार्यालयका संरचना नष्ट भएका छन् भने परिसरमा रहेका सवारी साधन पनि जलेर ध्वस्त भएका छन्। गृहमन्त्रीको यस अनुरोधले ट्राफिक प्रहरीको मनोबल उच्च राख्दै सेवा निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



