काठमाडौं, ११ भदौ — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनताको विश्वास नै देशको अस्तित्वसँग जोडिएको बताएका छन्।
काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद–२०८२’ मा बोल्दै उनले देशलाई जोगाउन माओवादी नै विकल्प भएको जिकिर गरे।
प्रचण्डका अनुसार माओवादी नेतृत्वका सरकारहरूले सदैव सकारात्मक काम मात्रै गरेका छन्। उनले भने, “जनताले अब पनि माओवादीलाई विश्वास गरेन भने देश ठूलो दुर्घटनामा पर्छ, मुलुकलाई जोगाउन गाह्रो हुन्छ।”
त्यसैगरी उनले प्रमुख विपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ नेकपा (एमाले) लाई निरन्तर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। उनको भनाइमा अहिले बनेको सरकार पनि भ्रष्टाचारमा संलग्न व्यक्तिलाई बचाउन र डरका कारण टिकाइएको हो।
प्रचण्डले थपे, “माओवादीको सरकारहरूले राम्रो काम मात्रै गरेका थिए, तर अहिले काँग्रेस र एमालेले त्यो बिर्सिएर आफ्नो स्वार्थका लागि सरकार गठन गरेका छन्। यो सरकारले सुशासन दिने कुनै आधार छैन।”



