काठमाडौं, २६ जेठ — हालै अमेरिकाबाट नेपाल फिर्ता पठाइएका ३७ नेपालीमध्ये एक जना डाइभर्सिटी भिसा (डीभी) पाएका व्यक्ति समेत परेका छन्। अध्यागमन विभागका अनुसार, ती युवक करीब १० वर्षअघि डीभीमार्फत अमेरिका पुगेका थिए र टेक्सास राज्यमा बस्दै आएका थिए। पारिवारिक विवादका कारण उनी प्रहरी नियन्त्रणमा परेपछि, कानुनी प्रक्रिया पूरा गरेर अमेरिकी अधिकारीहरूले उनलाई देश निकाला गरेका थिए।
उक्त व्यक्ति सहित ३७ जनालाई अमेरिकाको एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेशनलमार्फत ढाका हुँदै काठमाडौं ल्याइएको हो। डिपोर्ट भएकामध्ये पाँच जना महिला रहेका छन्।
नेपाल फर्किएपछि उनीहरूमाथि अध्यागमन र मानव बेचबिखन अनुसन्धान ब्यूरोले संक्षिप्त सोधपुछ गरेको थियो। यद्यपि डीभीमार्फत गएका व्यक्तिको केस विशेष आपराधिक प्रकृतिको नभएको भन्दै थप अनुसन्धान गरिएको छैन।
महानिर्देशक गोविन्द रिजालका अनुसार, प्रहरीको प्रारम्भिक सोधपुछपछि सबैलाई घर पठाइएको छ। प्रहरीले अमेरिका पठाउने गिरोहको खोजीका लागि जानकारी लिन प्रयास गरे पनि डिपोर्ट भएकाहरूले खासै सहकार्य नगरेको जनाइएको छ।



