झापा, २१ असार — जिल्लामा डेंगु संक्रमणबाट ११ वर्षीया सुरविरा राईको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका निवासी सुरविरालाई स्वास्थ्य समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
यस वर्ष डेंगु संक्रमणबाट मृत्यु हुने सुरविरा पहिलो व्यक्ति हुन् भने गत वर्ष झापामा डेंगुका कारण दुई जनाको मृत्यु भएको थियो। हाल जिल्लाभरि ५५ जना डेंगु संक्रमित उपचाररत छन्, जसमा अधिकांश बीएण्डसी अस्पतालमा छन्। संक्रमितमध्ये धेरैजसो बिर्तामोड क्षेत्रका रहेका छन्।
मनसुन सुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालयले डेंगु संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाउन र समयमै चिकित्सकको परामर्श लिन आग्रह गरेको छ।
डेंगुका लक्षणहरूमा लगातार तीनदेखि दस दिनसम्म उच्च ज्वरो, टाउको दुख्ने, पेट दुख्ने, रगत बग्ने, वाकवाकी लाग्ने, शरीरमा विमिरा देखिने लगायतका समस्या पर्दछन्। डेंगु संक्रमण असारदेखि असोजसम्म बढी देखिने भए पनि झापामा वर्षभरि संक्रमण देखिने गरेको छ।
सरकारले यस वर्ष देशभरि डेंगु संक्रमित ६० हजार नाघ्न सक्ने अनुमान गरेको छ र यसका लागि आवश्यक कार्ययोजना तयार पारेको छ। डेंगु संक्रमण साउनदेखि बढ्दै भदौ र असोजमा उच्चतम अवस्थामा पुग्ने र कात्तिकदेखि घट्न थाल्ने अपेक्षा गरिएको छ।



