काठमाडौं, असार १९ — आगामी चार महिना नेपालमा डेंगी संक्रमणको अत्यधिक जोखिम हुने जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाको अनुमानअनुसार यो अवधिमा करिब ६० हजार व्यक्तिमा डेंगीको संक्रमण देखिन सक्छ।
डेंगी रोग फैलाउने लामखुट्टेको प्रजनन प्रणाली नष्ट गर्नु नै यस रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको विज्ञहरूले बताएका छन्।कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार, लामखुट्टेले अण्डा दिने ठाउँहरू जस्तो कि फोहोर भाँडा, पानी जम्ने टायर, फ्रिज र एसीको नाली आदिलाई पूर्णरूपमा नष्ट गर्न आवश्यक छ।
उनले घरभित्र झुल, धुप, स्प्रे प्रयोग गरेर केही हदसम्म सुरक्षा पाउन सकिए पनि बाहिरी वातावरणमा भाइरसयुक्त लामखुट्टेको टोकाइबाट संक्रमणको खतरा कायमै रहने बताए। त्यसैले स्थानीय सरकारहरूको सहकार्यमा लामो समयसम्म नियमित अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
महाशाखा निर्देशक डा. चन्द्रभाल झाले डेंगी नियन्त्रण केवल स्वास्थ्य क्षेत्रको प्रयासले सम्भव नहुने बताउँदै वातावरण मन्त्रालयजस्ता निकायहरूको समेत सक्रिय सहभागिता जरुरी रहेको धारणा राखे।
यसबर्ष सरकारले डेंगी नियन्त्रणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विगतका वर्षहरूमा तराई मात्र सीमित देखिएको डेंगी हाल पहाडी क्षेत्रमा समेत फैलिएको देखिएको छ, जसले यसको नियन्त्रण झनै चुनौतीपूर्ण बनाएको छ।
विशेषज्ञहरूका अनुसार, डेंगीका लक्षणमा उच्च ज्वरो, टाउको र आँखापछाडि दुख्ने, मांसपेसी दुख्ने, वान्ता लाग्नेजस्ता समस्या देखिन्छन्। समयमै पहिचान र रोकथाम नभए ज्यानसमेत गुम्न सक्ने भएकाले व्यक्तिगत सतर्कता र सामूहिक प्रयास अपरिहार्य रहेको विज्ञहरूको चेतावनी छ।



