काठमाडौं, जेठ २९ – तीनकुनेमा भएको राजावादी आन्दोलनसँग जोडिएका ६१ जनाविरुद्ध दायर मुद्दामा थुनछेक बहस आज नवौं दिनसम्म पनि जारी छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सरकारी वकिल कार्यालयले जवाफी बहस गरिरहेको छ। २० जेठदेखि सुरु भएको थुनछेक बहसमा अझै निर्णय आउन बाँकी छ।
घटनामा संलग्न ठहर गरिएका ३९ जना प्रतिवादी अझै हिरासतमा छन् भने केहीलाई धरौटीमा रिहा गरिएको छ। आपराधिक उपद्रवको आरोप लागेका ११ जनालाई धरौटीमा छाडिएको हो। सरकारी वकिल कार्यालयले ११ जेठमा काठमाडौं जिल्ला अदालतमा ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये चार जना नाबालक रहेकाले उनीहरूको मामिला भक्तपुर पठाइएको छ।
घटनाका मुख्य अभियुक्तमा दुर्गा प्रसाईंसहित आठ जनामाथि ‘कर्तव्य ज्यान’ सम्मको गम्भीर मुद्दा लगाइएको छ। यसअघि प्रहरीको प्रतिवेदनमा उनीहरूलाई संगठित रूपमा राज्यसत्ता उल्टाउने प्रयासमा संलग्न रहेको उल्लेख गरिएको थियो।



