काठमाडौँ, साउन २९ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब शंकास्पद कागजातसहित पक्राउ परेकाहरुलाई सिधै प्रहरीको जिम्मा लगाइने भएको छ। भिजिट भिसाका नाममा भइरहेको दुरुपयोग रोक्न सर्वपक्षीय छलफलपछि अध्यागमन विभागले यो कदम चालेको हो।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, अघिल्लो प्रथामा कागजातमा त्रुटि वा नक्कली एनओसी भेटिए पनि सम्बन्धित व्यक्तिलाई फिर्ता पठाएर मामिला त्यत्तिकै टुंग्याइन्थ्यो। अब भने फिर्ता पठाइने व्यक्तिलाई प्रहरीको जिम्मा लगाइने निर्णय भएको छ। बिहीबार मात्रै शंकास्पद कागजातसहित दुई जनालाई प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ।
निर्देशक टिकाराम ढकालका अनुसार, विमानस्थलमा एयरलाइन्सदेखि प्रहरीसम्मका करिब एक सयभन्दा बढी निकाय खटिएका छन्, तर कागजातमा समस्या देखिएपछि धेरैजसो घटनामा ‘अध्यागमनले फिर्ता गर्यो’ भन्ने बुझाइ हुने गरेको छ। अबदेखि फिर्ता पठाउँदा त्यसको स्पष्ट कारणसहित लिखित प्रमाण अनिवार्य रूपमा उपलब्ध गराइनेछ।
महानिर्देशक तिवारीले भिजिट भिसाका नाममा भएको विकृति अध्यागमनमा मात्र सुधार गरेर समाधान नहुने भन्दै सम्बन्धित निकायहरुसँग निरन्तर छलफल भइरहेको र त्यही क्रममा यो कडाइ लागू गरिएको बताए।



