काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनका क्रममा देशभरका १४ आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय पूर्णरूपमा जलेर नष्ट भएका छन्। अर्थ मन्त्रालयका अनुसार थप केही कार्यालय आंशिक क्षतिग्रस्त भएका छन्।
दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरामा रहेका राजस्व कार्यालय पूर्णरूपमा ध्वस्त भएका हुन्। त्यस्तै कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका कार्यालय आंशिक रूपमा प्रभावित भएका छन्।
भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुर पूर्णरूपमा नष्ट भएका छन् भने विराटनगर, नेपालगञ्ज र ठाँडी कार्यालयमा आंशिक क्षति पुगेको छ।
यद्यपि भन्सारको अनलाइन प्रणाली ‘आसिकुडा’ र आन्तरिक राजस्व प्रणाली ‘आईएसपी’ सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। यसका कारण अनलाइनमार्फत कर संकलन र आयात-निर्यातको अत्यावश्यक कार्य निरन्तर गर्न सकिने बताइएको छ।
मन्त्रालयको मूल भवन जोगिएको छ तर बाहिर रहेको बजेट महाशाखाको एउटा संरचना पूर्णरूपमा जलेको र करिब १५ वटा सवारीसाधन तथा ठूलो संख्यामा मोटरसाइकल नष्ट भएको जानकारी दिइएको छ। नयाँ सरकार गठनपछि मन्त्रालयका सबै काम पुनः सुचारु गर्ने तयारी भइरहेको प्रवक्ता टंकप्रसाद पाण्डेले बताएका छन्।



