काठमाडौँ, असार ५ — स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधिसभामा बोल्दै दलित समुदायमाथि भइरहेको निरन्तर हिंसा र अत्याचारबारे सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्। संसदको आजको बैठकमा उनले राज्यको मौनताले दलित समुदायप्रति भेदभाव र बेवास्ता झन् उजागर गरेको टिप्पणी गरे।
सिंहले हालै महोत्तरीको रामगोपालपुरमा एक दलित महिलामाथि भएको सामूहिक बलात्कारको घटनालाई उदाहरण दिँदै पीडितले अझैसम्म न्याय नपाएकोप्रति आक्रोश व्यक्त गरे। उनले प्रश्न गरे -“के दलित नागरिक होइनन्? उनीहरूले न्याय पाउने अधिकार छैन?”
त्यसैगरी, सवारीचालक लाइसेन्स वितरणमा हुने अनियमितता र भ्रष्टाचारले दिनप्रतिदिन दुर्घटना बढेको बताउँदै उनले टिपर चालकको नक्कली लाइसेन्ससमेत गम्भीर समस्या भएको उल्लेख गरे। उनका अनुसार ठूला सवारीसाधन विशेषतः टिपरहरू चलाउने अधिकांश चालकहरूको लाइसेन्स नक्कली भएको शंका छ, जसले सडक दुर्घटनामा दिनानुदिन वृद्धि गरिरहेको छ।



