काठमाडौं, भदौ २२ – चीनले विश्वकै पहिलो सिक्स जी चिप सार्वजनिक गर्दै सूचना प्रविधि क्षेत्रमा नयाँ माइलस्टोन सेट गरेको छ। यो चिपले दुर्गम तथा ग्रामीण क्षेत्रका प्रयोगकर्ताहरूलाई उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउने दाबी गरिएको छ। विद्यमान फाइभ जी नेटवर्कभन्दा सिक्स जी चिप ५ हजार गुणा बढी डेटा ट्रान्सफर गर्ने क्षमता राख्ने बताइएको छ।
चिनियाँ वैज्ञानिकहरूले पातलो लिथियम नियोबेट फोटोनिक झिल्ली र नयाँ संरचनाको संयोजनमार्फत यो उच्चगतिको वायरलेस सञ्चार चिप निर्माण गरेका हुन्। यो चिप ०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्मका फ्रिक्वेन्सीमा काम गर्न सक्षम छ र एक सेकेण्डमै १ सय जिबी डेटा ट्रान्सफर गर्न सक्ने दाबी गरिएको छ। यसबाट ५० जिबीको एचडी ८के फिल्म आधा सेकेन्डमै डाउनलोड गर्न सम्भव हुनेछ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो चिप बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङकङको सिटी विश्वविद्यालयका शोधकर्ताहरूको सहकार्यमा तयार गरिएको हो। नेचर जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, सिक्स जी चिपले मोबाइल, स्मार्टफोन, कम्प्युटर र अन्य डिजिटल उपकरणहरूमा अत्याधुनिक कनेक्टिभिटी उपलब्ध गराउनेछ। यो इन्टिग्रेटेड अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिमा आधारित छ र सबै फ्रिक्वेन्सी ब्यान्डमा काम गर्न सक्नेछ।
सिक्स जी चिपले केवल सहरी क्षेत्रमा नभई ग्रामीण र दुर्गम क्षेत्रमा पनि तेज इन्टरनेट सेवा पुर्याउने दाबी गरिएको छ। तर, विशेषज्ञहरूले उच्चगतिको इन्टरनेटसँगै विद्युत चुम्बकीय विकिरण, साइबर हमला र डेटा गोपनीयतामा जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।
यस चिपको विकासले भविष्यमा वायरलेस सञ्चार र डिजिटल प्रविधिमा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ। सिक्स जी प्रविधिको पूर्ण कार्यान्वयनले इन्टरनेटको गति र विश्वसनीयता दुवैमा ठूलो सुधार गर्नेछ।



